व्यायामपछि वाकवाकी लाग्ने समस्या : जान्नै पर्ने कुराहरू

व्यायामपछि वाकवाकी लाग्नु खेलाडीहरूमा एउटा सामान्य समस्या हो। व्यायामको क्रममा शरीरले मांसपेशी र छालामा रगत प्रवाह बढाउने हुँदा पाचन अंगहरूमा रगतको आपूर्ति घट्छ, जसले गर्दा प्रायः यस्तो हुन्छ।

व्यायामको तीव्रता र खाना खाएको समयले वाकवाकीमा प्रभाव पार्छ। उच्च तीव्रता भएको कसरत र खाना खाएको तुरुन्तै व्यायाम गर्दा, मध्यम कसरत वा खाना र व्यायामको बीचमा पर्याप्त समय अन्तराल राख्दा भन्दा बढी वाकवाकी हुन सक्छ।

पानीको सही मात्रा, ग्लुकोज र फ्रक्टोज जस्ता बहु-कार्बोहाइड्रेट भएका स्पोर्ट्स ड्रिंकको सेवन, व्यायामको समय नजिक खाना नखाने, र कसरतको तीव्रता विस्तारै बढाउँदै जाँदा वाकवाकीको समस्या न्यूनीकरण वा रोकथाम गर्न मद्दत मिल्छ।

कहिलेकाँही व्यायामपछि वाकवाकी हुने समस्या भएमा, व्यायामको प्रकार र खानपिनको बानीमा परिवर्तन गरेर यसलाई कम गर्न सकिन्छ। यद्यपि, व्यायामपछि लगातार वाकवाकी हुनु कुनै अन्तर्निहित स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ, जसको लागि चिकित्सकीय सल्लाह आवश्यक पर्छ।

व्यायामपछि वाकवाकी लाग्नुका सम्भावित कारणहरू, यसको उपचार र रोकथामका उपायहरू, र डाक्टरलाई कहिले भेट्ने भन्ने बारे यहाँ चर्चा गरिएको छ।

व्यायामपछि वाकवाकी र अन्य लक्षणहरू

व्यायामपछि व्यक्तिलाई निम्न लक्षणहरू अनुभव हुन सक्छन्:

  • वाकवाकी
  • बान्ता हुनु
  • छातीमा पोल्ने समस्या (हार्टबर्न)
  • एसिड रिफ्लक्स
  • डकार आउनु
  • पखाला लाग्नु
  • पेट दुख्नु
  • ग्यास्ट्रोइंटेस्टाइनल रक्तश्राव
  • ग्यास हुनु

अल्ट्राम्याराथुन दौड जस्ता अत्यधिक सहनशीलता चाहिने खेलहरूमा वाकवाकी लाग्ने समस्या धेरै देखिन्छ। सहनशीलता दौड प्रतियोगिताहरूमा करिब ९०% प्रतिस्पर्धीहरूले पाचन प्रणाली सम्बन्धी लक्षणहरू अनुभव गर्न सक्छन्।

दौड्दा साइक्लिङ्ग जस्ता अन्य व्यायामको तुलनामा बढी गम्भीर लक्षणहरू देखिन सक्छन्। व्यायामको दिनचर्या परिवर्तन गर्दा वाकवाकी र अन्य लक्षणहरू व्यवस्थापन गर्न मद्दत मिल्न सक्छ।

व्यायामपछि वाकवाकी लाग्नुका कारणहरू

व्यायामका कारण हुने वाकवाकी र पाचन सम्बन्धी लक्षणहरूका केही प्रमुख कारणहरू यसप्रकार छन्:

  • पाचन प्रणाली र पेटका अंगहरूमा रगत प्रवाह कम हुनु
  • पेटमा भएको खाना ढिलो मात्रामा सानो आन्द्रामा जानु (डिलेड ग्यास्ट्रिक इम्प्टिइङ्ग)
  • पानीको कमी हुनु (डिहाइड्रेसन)
  • रगतमा सोडियमको मात्रा कम हुनु (हाइपोनेट्रेमिया)

दुर्लभ अवस्थामा, व्यायामले गर्दा हुने वाकवाकी कुनै अन्तर्निहित रोगका कारणले पनि हुन सक्छ। यस विषयमा सीमित अनुसन्धान भए तापनि, केही सम्भावित कारणहरू यसप्रकार हुन सक्छन्:

  • मृगौला फेल हुनु
  • लू लाग्नु (हिटस्ट्रोक)
  • खाना खाएपछि हुने गम्भीर एलर्जी (एनाफिल्याक्सिस)
  • पित्तथैलीमा दाग लाग्नु
  • आन्द्राको रक्तनलीमा अवरोध भएर मृत्यु हुने रोग (इस्केमिक बावेल डिजिज)
  • प्यान्क्रियाजको सूजन (प्यान्क्रियाटाइटिस)

व्यायामपछि वाकवाकी कसरी कम गर्ने

एक अनुसन्धान लेख अनुसार, ग्लुकोज र फ्रक्टोज जस्ता धेरै प्रकारका कार्बोहाइड्रेट मिसिएको स्पोर्ट्स ड्रिंक पिउँदा व्यायामपछिको वाकवाकी कम गर्न मद्दत मिल्न सक्छ।

शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्न सहयोग गर्ने सप्लिमेन्ट लिनु पनि लाभदायक हुन सक्छ। यसले पेटका अंगहरूमा रगत प्रवाह बढाउन मद्दत गर्छ। तर, यस विषयमा थप अनुसन्धान हुन आवश्यक रहेको लेखमा उल्लेख छ। वाकवाकीको उपचार यसको अन्तर्निहित कारणमा भर पर्छ।

केही अनुभवी स्रोतहरूका अनुसार, व्यायामपछि बिस्तारै हिँड्ने वा पिठ्युँ बराबर सुतेर खुट्टालाई पेटभन्दा माथि उठाएर राख्दा पनि लक्षणहरू कम हुन सक्छन्।

व्यायामपछि वाकवाकी रोकथामका उपायहरू

व्यायाम गर्दा वाकवाकी कम गर्न वा रोक्न निम्न कदमहरू चाल्न सकिन्छ:

  • आन्द्राको स्वास्थ्यका लागि पर्याप्त फाइबर युक्त खानेकुरा खाने, तर व्यायाम गर्नुअघि उच्च फाइबर भएको खानेकुरा नखाने।
  • व्यायाम गर्नुअघि प्रोटिन, बोसो र दुग्ध पदार्थ जस्ता ढिलो पच्ने खानेकुरा नखाने, जसले गर्दा पेट खाली हुने प्रक्रिया छिटो हुन सकोस्।
  • व्यायाम गर्दा ननस्टेरोइडल एन्टी-इन्फ्लामेटरी औषधि (NSAIDs) सेवन नगर्ने, किनकि यसले पाचन प्रणालीका लक्षणहरू बढाउन सक्छ।
  • उच्च फ्रक्टोज भएका खानेकुरा र पेय पदार्थ, विशेष गरी उच्च फ्रक्टोज भएका पेय पदार्थ नखाने, जबसम्म तिनमा ग्लुकोज पनि मिसिएको हुँदैन।
  • व्यायाम गर्नुअघि र गर्दा पर्याप्त पानी पिइरहने, ताकि पानीको कमीले पाचन सम्बन्धी लक्षणहरू नबढून्।
  • कम कार्बोहाइड्रेट सान्द्रता भएका पेय पदार्थ वा पानीको मात्रा बढी भएका कार्बोहाइड्रेट युक्त खानेकुरा सेवन गर्ने।

व्यायम गर्दा कस्ता खानेकुरा र पेय पदार्थ उपयुक्त हुन्छन् र खाना खाएको कति समयपछि व्यायाम गर्ने भन्ने कुरा पत्ता लगाउन व्यक्तिले आफैँ फरक-फरक पोषण योजना प्रयोग गरेर हेर्न सक्छन्।

व्यायाम गर्नुअघि र पछि राम्रोसँग वार्म-अप र कुल-डाउन गर्न पनि मद्दत मिल्छ। कम तीव्रताको कसरतबाट सुरु गरी विस्तारै तीव्रता बढाउनु पनि उचित तरिका हो।

डाक्टरलाई कहिले भेट्ने

यदि खानपिन र व्यायाम गर्ने बानीमा परिवर्तन गर्दा पनि व्यायामपछिको वाकवाकी कम भएन भने, स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नु उचित हुन्छ। उहाँले व्यायामपछिको वाकवाकी र अन्य लक्षणहरू व्यवस्थापन गर्ने उपायहरू सुझाउन सक्नुहुन्छ। बारम्बार वाकवाकी हुनुको कुनै अन्तर्निहित कारण छ कि भनेर पत्ता लगाउन उहाँले केही जाँचहरू पनि गर्न लगाउन सक्नुहुन्छ।

यदि कसैलाई निम्न गम्भीर लक्षणहरू देखिएमा तुरुन्तै चिकित्सकीय सहायता लिनुहोस्:

  • दिसामा रगत देखिनु
  • रगत बान्ता हुनु
  • दिसा कालो वा टार जस्तो हुनु
  • पेटमा गम्भीर दुखाइ हुनु

यी लक्षणहरू कुनै गम्भीर अन्तर्निहित स्वास्थ्य समस्याका संकेत हुन सक्छन्, जसको तुरुन्तै उपचार आवश्यक पर्छ।

सारांश:

व्यायाम गर्दा पाचन प्रणालीमा कम रगत पुग्छ, जसले गर्दा वाकवाकी र अन्य पाचन सम्बन्धी लक्षणहरू देखिन सक्छन्। उच्च तीव्रताको कसरत गर्दा यस्तो हुने सम्भावना बढी हुन्छ।

यी लक्षणहरूका अन्य सम्भावित कारणहरूमा व्यायाम गर्नुभन्दा केही समयअघि मात्र खाना खानु, पानीको कमी हुनु, र इलेक्ट्रोलाइटको मात्रामा असंतुलन हुनु पर्छन्।

कम तीव्रताको कसरत गरेर वा खाना खाएको तुरुन्तै व्यायाम नगरी यसलाई कम गर्न सकिन्छ। यदि व्यायाम गर्ने बानीमा परिवर्तन गर्दा पनि वाकवाकी कम भएन, वा लक्षणहरू गम्भीर वा लामो समयसम्म रहेमा, स्वास्थ्यकर्मीलाई भेट्नुपर्छ। उहाँले यसको कुनै अन्तर्निहित कारण छ कि भनेर पत्ता लगाउन मद्दत गर्न सक्नुहुन्छ।

– स्मृति के सी