अनारको प्राकृतिक तत्वले मुटुको काम गर्ने तरिका सुधार्न सक्छ

लेखक: कोरी पेल्क

प्रकाशित: अगस्ट २२, २०२६

मुख्य कुराहरू

  • एउटा नयाँ अध्ययनले अनारमा पाइने एउटा प्राकृतिक पदार्थले मुटुको कमजोरी (हार्ट फेलियर) को उपचारमा सघाउन सक्ने सुझाव दिएको छ।
  • लगभग आधा (५०%) मुटु कमजोरीका घटनाहरू ‘HFpEF’ नामक अवस्थाका कारण हुन्छन्। यसमा मुटुको मांसपेशी कडा हुन्छ, जसले गर्दा रगत भर्न र आराम गर्न गाह्रो हुन्छ।
  • HFpEF को हालको उपचारमा औषधि र स्वस्थ बानीहरू (जस्तै मुटु-मैत्री आहार) समावेश छन्।
  • अनुसन्धानले पत्ता लगायो कि हाम्रो पेटको ब्याक्टेरियाले केही फलफूल र नटबाट बनाउने ‘यूरोलिथिन ए’ भन्ने पदार्थले HFpEF भएका व्यक्तिहरूको मुटुको काम गर्ने शक्ति सुधार्न मद्दत गर्न सक्छ।

मुटुको कमजोरी कति मानिसलाई हुन्छ?

विश्वभर करिब ६४ मिलियन मानिसहरू मुटुको कमजोरी (हार्ट फेलियर) बाट पीडित छन्। यो अवस्थामा मुटुले शरीरलाई चाहिने जति रगत पम्प गर्न सक्दैन।

यी मध्ये करिब आधा केस ‘HFpEF’ प्रकारका हुन्छन्। यसमा मुटुको मांसपेशी सुक्खा वा कडा हुन्छ, जसले गर्दा मुटु दुई धड्कनको बीचमा रगतले राम्ररी नभरिने र आराम नगर्ने हुन्छ।

यसले शरीरमा पानी जम्मा हुन्छ, थकान हुन्छ र सास फेर्न गाह्रो हुन्छ।

HFpEF को उपचारमा औषधि, तौल घटाउने, नियमित व्यायाम, र कम नुन भएको आहार समावेश हुन्छ।

अध्ययनले के परीक्षण गर्यो?

अनुसारकर्ताहरूले जनावर (मुसा) र मानव कोशिकाबाट बनाइएको मुटुको तन्तु प्रयोग गरेर ‘यूरोलिथिन ए’ ले HFpEF मा कसरी असर गर्छ भनेर हेरे।

विज्ञले के भने?

डा. जोसेफ बर्गोइन (किंग्स कलेज लन्डन) ले भने:

“HFpEF धेरै सामान्य छ र बढ्दै गइरहेको छ। उपचारमा सुधार भए पनि, तिनीहरूले मुटुको कडापन र आराम नगर्ने मूल समस्यालाई समाधान गर्दैनन्। त्यसैले मुटुको मांसपेशीलाई आराम दिने प्रोटिन (PKG1alpha) लाई लक्षित गर्ने नयाँ उपचारको खाँचो छ।”

“हामीले प्राकृतिक पदार्थहरू खोज्दा यूरोलिथिन ए फेला पार्यौं, जुन अनार, अखरोट र केही जामुन खाँदा हाम्रो शरीरले आफैं उत्पादन गर्छ।”

यूरोलिथिन ए ले मुटुको काम गर्ने क्षमतामा ठूलो सुधार ल्यायो

अध्ययनमा, यूरोलिथिन ए दिइएका HFpEF भएका मुसाहरूको मुटुको कार्यक्षमता नदिइएकाको तुलनामा ८०% सम्म राम्रो भयो।

त्यस्तै, मानव कोशिकाबाट बनाइएको मुटुको तन्तुमा पनि यस पदार्थले कोशिकाहरूलाई राम्ररी आराम गर्न र कडापन कम गर्न मद्दत गर्यो।

डा. बर्गोइनले थपे:

“हाम्रो निष्कर्षले PKG1alpha लाई लक्षित गर्नु HFpEF उपचारको प्रभावकारी नयाँ बाटो हुन सक्छ भन्ने देखाउँछ। यसले यूरोलिथिन ए वा त्यस्तै काम गर्ने औषधिहरू विकास गर्ने आधार दिन्छ। तर मानिसमा पनि यस्तै फाइदा हुन्छ कि भनेर थप अध्ययन आवश्यक छ।”

तर मानिसमा अझै परीक्षण बाँकी छ

डा. केविन शाह (कार्डियोलोजिस्ट) ले भने:

“यो अध्ययन रोमाञ्चक छ किनभने यसले HFpEF को लागि नयाँ उपचार लक्ष्य देखाएको छ। तर यो जनावर र प्रयोगशालाको तन्तुमा मात्र भएको छ। अब बिरामीमा पनि काम गर्छ कि भनेर क्लिनिकल परीक्षण गर्नुपर्छ।”

“HFpEF ले आधा मुटुका बिरामीहरूलाई असर गर्छ। अहिले पनि उपचार छ, तर केही बिरामीको जीवनस्तर राम्रो छैन। नयाँ बाटोले अझ राम्रो उपचार दिन सक्छ।”

“अर्को चरण भनेको यी नतिजाहरू मानवमा पनि पुष्टि गर्नु हो, विशेष गरी लक्षण, व्यायाम क्षमता र जीवनको गुणस्तरमा सुधार आउँछ कि भनेर हेर्नु।”

के अनार खाँदै मात्र मुटुको कमजोरी निको हुन्छ?

डा. बर्गोइनले चेताउनी दिए:

“अनार खाएर मुटुको कमजोरी निको हुन्छ भन्ने पर्याप्त प्रमाण छैन। तर, यूरोलिथिन ए बढाउने आहारले यो अवस्था कम गर्न सक्ने सम्भावना देखिन्छ।”

डाइटिशियन मोनिक रिचर्डले भनिन्:

“यूरोलिथिन ए खानामा पाइने तत्व होइन; यो हाम्रो पेटको ब्याक्टेरियाले अनार, जामुन, अखरोट जस्ता खानामा पाइने पोलिफेनोलबाट बनाउँछ। त्यसैले यो ‘अनार धेरै खाऊ’ भन्ने होइन, ‘स्वस्थ वनस्पति खानेकुरा र आन्द्राको स्वास्थ्य जोड्ने’ कुरा हो।”

“यसले देखाउँछ कि आन्द्रा र मुटुको स्वास्थ्य जोडिएको छ। हाम्रो आन्द्राले खानालाई सन्देश पठाउने अणुमा बदल्छ जसले शरीरका अरू अंगलाई असर गर्छ।”

कसरी आहारमा यूरोलिथिन ए बढाउने?

यूरोलिथिन ए आफैं खानामा हुँदैन, तर यसका कच्चा पदार्थ (एलागिट्यानिन) यी खानेकुरामा पाइन्छ:

  • अनार
  • रास्पबेरी, स्ट्रबेरी, ब्ल्याकबेरी र अन्य जामुन
  • अखरोट र पेकान

सजिलो सुझावहरू:

  • ओटमिल वा दहीमा जामुन मिसाउनुहोस्।
  • सलाद वा दालको कचौरामा अनारको दाना छर्कनुहोस्।
  • सलादमा अखरोट हाल्नुहोस्।
  • ४ औंस (करिब १२० मिली) अनारको जुस पिउनुहोस्।

ख्याल राख्नुहोस्:

पूरक (सप्लिमेन्ट) लिनुभन्दा सम्पूर्ण खाना खाँदा फाइबर र अन्य पोषक तत्व पनि पाइन्छ, जसले मुटुको स्वास्थ्यलाई अझ राम्रो गर्छ। साथै, आन्द्राको ब्याक्टेरियाको आधारमा यूरोलिथिन ए उत्पादन व्यक्तिअनुसार फरक हुन्छ।

अन्त्यमा, के बुझ्ने?

यस अध्ययनले HFpEF को उपचारका लागि नयाँ सम्भावना देखाउँछ—जसले आन्द्रामा अनार, जामुन, अखरोटबाट बन्ने यूरोलिथिन ए मार्फत मुटुलाई आराम गर्न मद्दत गर्न सक्छ। यद्यपि यो प्रारम्भिक चरणको अनुसन्धान हो र मानवमा अझै परीक्षण बाँकी छ, तैपनि यसले आहार, आन्द्रा र मुटुको स्वास्थ्यबीचको सम्बन्धलाई जोड दिन्छ। यी खानेकुरालाई सन्तुलित आहारमा समावेश गर्नु समग्र स्वास्थ्यका लागि राम्रो हो, तर HFpEF को मुख्य उपचार औषधि र चिकित्सकको सल्लाह नै हो।

 

अनुवाद: पी. समर

साभार: एम एन टी