दौरा र मिर्गी: बुझ्नैपर्ने आधारभूत कुराहरू
*डा. सुमन भट्टराई
दौरा र मिर्गीबारे आम मानिसमा विभिन्न भ्रम र मिथ्याहरू व्याप्त छन्। यो लेखले यी दुई अवस्थाबारे वैज्ञानिक तथ्य र व्यवहारिक जानकारी दिने उद्देश्य राखेको छ।
दौरा (Seizure) भनेको के हो?
दौरा मस्तिष्कमा हुने एक क्षणिक घटना हो। यो मस्तिष्कका कोषहरू (neurons) मा अचानक र अत्यधिक मात्रामा हुने विद्युतीय गतिविधि (electrical discharge) को कारणले हुन्छ। यसले शरीरमा विभिन्न लक्षणहरू देखाउन सक्छ, जस्तैः
* शरीर काम्नु (jerk)
* बेहोस हुनु
* शरीरका अंगहरू अकस्मात् कडा हुनु (tonic)
* शरीरमा झट्का आउनु (clonic)
* केही समयका लागि टाढा हेरिरहनु (staring)
मिर्गी (Epilepsy) भनेको के हो?
मिर्गी मस्तिष्कको एक स्नायु रोग हो। यसलाई निम्न अवस्थाहरूले परिभाषित गर्छन्:
* २४ घण्टाभन्दा बढीको फरकमा कम्तीमा दुई पटक कारण बिना (unprovoked) दौरा पर्नु।
* एउटा मात्र कारण बिनाको दौरा परेको भए पनि, भविष्यमा थप दौरा दोहोरिने सम्भावना ६०% भन्दा बढी हुनु।
* एपिलेप्सी सिन्ड्रोमको निदान हुनु।
सरल भाषामा, मिर्गी भनेको बारम्बार दौरा दोहोरिने अवस्था हो। सबै दौरा मिर्गी होइनन्, तर मिर्गीका बिरामीलाई बारम्बार दौरा हुन्छ।
दौरा किन हुन्छ?
मस्तिष्कमा हुने न्यूरोनहरू (neurons) बीचको विद्युतीय सञ्चारमा गडबडी हुँदा दौरा हुन्छ। यो असन्तुलन विभिन्न कारणले हुन सक्छ, जस्तै:
* मस्तिष्कमा हुने विद्युतीय असन्तुलन: उत्तेजक (excitatory) र अवरोधक (inhibitory) संकेतहरूबीचको सन्तुलन बिग्रँदा।
* चिकित्सकीय अवस्था: मस्तिष्कको संक्रमण (मेनिन्जाइटिस, इन्सेफलाइटिस), ब्रेन ट्युमर, स्ट्रोक वा टाउकोमा लागेको चोट।
* अन्य रोग: हाइपोग्लाइसिमिया (सुगरको कमी), हाइपोनेट्रेमिया (सोडियमको कमी), हाइपोक्याल्सेमिया (क्याल्सियमको कमी) जस्ता चयापचय सम्बन्धी समस्याहरू।
* पदार्थको प्रयोग: कोकेन, एम्फेटामाइन जस्ता नशालु पदार्थको प्रयोग वा रक्सीको लत छोड्दा।
* आनुवंशिक कारण: आनुवंशिक रूपमा प्राप्त हुने मिर्गी सिन्ड्रोम।
मिर्गीका जोखिम कारकहरू
निम्न अवस्थाले मिर्गीका बिरामीलाई दौरा दोहोरिने जोखिम बढाउँछ:
* डाक्टरको सल्लाह बिना औषधि छाड्नु।
* पर्याप्त निद्रा नपाउनु।
* शरीरमा पानीको कमी (डिहाइड्रेसन)।
* अत्याधिक मानसिक तनाव।
* चम्किलो वा फ्ल्यासिङ लाइटको सम्पर्कमा आउनु।
* ज्वरो र अन्य शारीरिक रोग।
* अत्यधिक शारीरिक परिश्रम।
* सुगरको मात्रा घट्नु (Hypoglycemia)।
मिर्गीको उपचार
मिर्गीको उपचार सम्भव छ र यसले बिरामीलाई सामान्य जीवन जिउन मद्दत गर्छ। उपचारका केही मुख्य विधिहरू यस्ता छन्:
* दौरा नियन्त्रण गर्ने औषधिहरू (ASMs): यो सबैभन्दा सामान्य उपचार विधि हो।
* शल्य चिकित्सा (Surgery): केही खास अवस्थामा मस्तिष्कको शल्यक्रिया गरेर मिर्गीको उपचार गरिन्छ। यसमा लेजर एब्लेसन (MRI-guided laser ablation) र फोकस्ड अल्ट्रासाउन्ड जस्ता आधुनिक प्रविधि पनि प्रयोग गरिन्छ।
* उपकरणमा आधारित उपचार (Devices): भेगस-नर्भ स्टिम्युलेसन (VNS), डीप ब्रेन स्टिम्युलेसन (DBS) जस्ता उपकरणहरूको प्रयोग गरिन्छ।
* आहारा सम्बन्धी उपचार (Dietary): केटोजेनिक डाइट, मोडिफाइड एटकिन्स डाइट जस्ता विशेष आहारले पनि मिर्गी व्यवस्थापनमा सहयोग गर्छ।
मिर्गीबारे केही तथ्य र मिथ्या
मिर्गीबारे समाजमा धेरै भ्रम छन् जसलाई चिर्न जरुरी छ।
तथ्यहरू:
* नेपालमा हरेक १,००० मध्ये ३ जना मिर्गीबाट प्रभावित छन्। यो विश्वव्यापी रूपमा ५ करोडभन्दा बढी मानिसलाई असर गर्ने एक प्रमुख स्नायु रोग हो।
* दौरा विभिन्न किसिमका हुन्छन्। सबै दौरामा शरीर काम्दैन।
* मिर्गी पूर्ण रूपमा निको हुन सक्छ।
* मिर्गीका बिरामीहरू पनि सामान्य र पूर्ण जीवन जिउन सक्छन्।
मिथ्याहरू:
* मिर्गी संक्रामक रोग हो: यो पूर्णतया गलत हो।
* मिर्गीका सबै बिरामीहरू बौद्धिक रूपमा कमजोर हुन्छन्: यो गलत धारणा हो।
* दौरा पर्दा बिरामीको मुखमा केही थोपर वा चम्चा राख्नुपर्छ: यसो गर्दा बिरामीको मुख, दाँत वा जिब्रोमा थप चोट लाग्न सक्छ।
* मिर्गीका बिरामी मानसिक रूपमा बिरामी हुन्छन्: यो रोग मानसिक स्वास्थ्यसँग सम्बन्धित होइन।
* मिर्गी भएका महिलाले गर्भधारण गर्न सक्दैनन् वा गर्नु हुँदैन: मिर्गी भएका महिलाले डाक्टरको परामर्शमा सुरक्षित रूपमा गर्भधारण गर्न सक्छन्।
दौरा पर्दा प्राथमिक उपचार: के गर्ने र के नगर्ने?
दौरा परेको देख्दा आत्तिनु हुँदैन। सही प्राथमिक उपचारले बिरामीलाई थप चोट लाग्नबाट बचाउँछ।
गर्नुपर्ने कुराहरू:
* शान्त रहनुहोस्: सबैभन्दा पहिले आफू शान्त रहनुहोस्।
* सुरक्षित बनाउनुहोस्: बिरामीलाई चोट लाग्न सक्ने वस्तुहरू, जस्तै फर्निचर, धारिलो सामानबाट टाढा राख्नुहोस्।
* टाउकोलाई आड दिनुहोस्: बिरामीको टाउकोलाई तकिया वा नरम कपडाले आड दिनुहोस्।
* दाहिने कोल्टे फेर्नुहोस्: दौरा सकिएपछि बिरामीलाई दाहिने कोल्टे फेरेर सुताउनुहोस्, ताकि श्वास फेर्न सजिलो होस्।
* साथमा बस्नुहोस्: बिरामी पूर्ण रूपमा होसमा नआएसम्म साथमै बस्नुहोस्।
गर्न नहुने कुराहरू:
* दौरा रोक्ने प्रयास नगर्नुहोस्: बिरामीको हात-खुट्टा समातेर जबरजस्ती रोक्ने प्रयास नगर्नुहोस्।
* मुखमा केही नथुन्नुहोस्: मुखमा चम्चा, कपडा वा औँला हाल्ने प्रयास नगर्नुहोस्।
* बिरामीलाई एक्लै नछाड्नुहोस्: दौरा सकिएको केही समयसम्म उहाँलाई एक्लै नछोड्नुहोस्।
* पानी वा औषधि खुवाउने प्रयास नगर्नुहोस्: बिरामी बेहोस भएको अवस्थामा मुखबाट केही पनि नखुवाउनुहोस्।
सरकारको भूमिका:
मिर्गीको रोकथाम, उपचार र जागरूकता बढाउन सरकारी स्तरबाट निम्न प्रयास गर्न सकिन्छ:
* स्वास्थ्यकर्मी र समुदायका अगुवाहरूलाई मिर्गीबारे तालिम दिने।
* मिर्गीसँग जोडिएको सामाजिक कलंक हटाउन राष्ट्रव्यापी जागरूकता अभियान चलाउने।
* प्राथमिक स्वास्थ्य केन्द्रहरूमा मिर्गीको निदान र सस्तो औषधिको उपलब्धता सुनिश्चित गर्ने।
* मिर्गीका बिरामीहरूलाई स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने कानुन बनाउने।
मिर्गी रोगबारे सही जानकारी लिनु र फैलाउनु नै यसको प्रभावकारी व्यवस्थापनको पहिलो कदम हो। यदि तपाईं वा तपाईंको परिवारमा कसैलाई बारम्बार दौरा पर्छ भने, तुरुन्तै विशेषज्ञ डाक्टरसँग सल्लाह लिनुहोस्।
*सल्लाहकार स्नायुरोग विशेषज्ञ
राष्ट्रिय न्युरो सेन्टर
महाराजगञ्ज, काठमाडौँ