सिजोफ्रेनियाको बारेमा अनुसन्धान
सिजोफ्रेनियाका तीन चरणहरू हुन्छन्: प्रारम्भिक (प्रोड्रोमल), सक्रिय (एक्टिभ), र अवशिष्ट (रेसिडुअल)। एक स्वास्थ्य सेवा पेशेवरले व्यक्तिको चरण पत्ता लगाई उनीहरूलाई आफ्नो अवस्था व्यवस्थापन गर्न मद्दत गर्न उपयुक्त उपचार सिफारिस गर्न सक्छन्।
सिजोफ्रेनियाको सक्रिय चरणमा सामान्यतया मनोविकृति (साइकोसिस) का लक्षणहरू समावेश हुन्छन्। यसमा भ्रम (डेलुजन), अविश्वास (प्यारानोइया), र मतिभ्रम (हेलुसिनेसन) समावेश हुन सक्छन्।
सिजोफ्रेनियाको उपचारमा मनोचिकित्सा (साइकोथेरापी), पारिवारिक चिकित्सा, एन्टिसाइकोटिक औषधिहरू, र समन्वयित विशेष हेरचाह (कोअर्डिनेटेड स्पेशालिटी केयर) जस्ता कारकहरूको संयोजन समावेश हुन सक्छ। यसले व्यक्तिलाई उनका लक्षणहरू व्यवस्थापन गर्न र पुनरावृत्ति रोक्न मद्दत गर्न सक्छ।
सिजोफ्रेनिया एक दीर्घकालीन मानसिक रोग हो।
यो अवस्थाले व्यक्तिको सोचाइ, महसुस र व्यवहार गर्ने तरिकालाई असर गर्छ। सिजोफ्रेनिया भएका मानिसहरूले निम्न अनुभव गर्न सक्छन्:
- भ्रम (झूटा विश्वास)
- मतिभ्रम (काल्पनिक दृश्य/आवाज सुन्नु/देख्नु)
- अवसाद (डिप्रेसन)
- सम्झना समस्याहरू
- अव्यवस्थित सोचाइ र वाणी
मानिसहरूले हेरचाह टोलीको सहायताले आफ्ना लक्षणहरू व्यवस्थापन गर्न सक्छन् जसले प्रभावकारी उपचारहरू समन्वय र प्रदान गर्दछ। यद्यपि, उपचार बिना, सिजोफ्रेनियाका लक्षणहरूले व्यक्तिको काम वा विद्यालयमा संलग्न हुने, स्वतन्त्र रूपमा बाँच्ने, र स्वस्थ पारस्परिक सम्बन्ध कायम राख्ने क्षमतालाई गम्भीर रूपमा असर गर्न सक्छ।
यस लेखमा सिजोफ्रेनियाका चरणहरू, तिनका कारणहरू, लक्षणहरू, निदान, उपचार विकल्पहरू, र आपतकालीन हेरचाह कहाँ खोज्ने भन्ने बारे छलफल गरिएको छ।
प्रारम्भिक चरण (प्रोड्रोमल फेज)
यो सिजोफ्रेनियाको पहिलो चरण हो। यो ध्यान दिन सकिने मनोविकृति (साइकोटिक) लक्षणहरू देखा पर्नु अघि हुन्छ। यस चरणको दौरान, एक व्यक्तिमा व्यवहारिक र संज्ञानात्मक (सोचाइ सम्बन्धी) परिवर्तनहरू हुन्छन् जुन समयसँगै मनोविकृतिमा विकसित हुन सक्छन्।
सिजोफ्रेनियाको प्रारम्भिक चरणमा सामान्यतया गैर-विशिष्ट लक्षणहरू समावेश हुन्छन् जुन अन्य मानसिक रोगहरूमा पनि देखा पर्छन्, जस्तै अवसाद (डिप्रेसन)।
प्रारम्भिक (प्रोड्रोमल) सिजोफ्रेनियाका लक्षणहरूमा समावेश छन्:
- सामाजिक एक्लोपन (एकान्त प्रिय हुनु)
- प्रेरणाको कमी
- चिन्ता
- चिडचिडापन
- ध्यान केन्द्रित गर्न कठिनाइ
- आफ्नो सामान्य दिनचर्यामा परिवर्तन
- निद्राको समस्या
- व्यक्तिगत सरसफाइमा लापरवाही
- अनियमित व्यवहार
- हल्का वा अस्पष्ट प्रकारका मतिभ्रम
सन् २०१८ को एक समीक्षाका लेखकहरूका अनुसार, सिजोफ्रेनिया भएका ७३% सम्म मानिसहरूले सिजोफ्रेनियाको विशेषता लक्षणहरू विकास गर्नु अघि प्रारम्भिक चरणको अनुभव गर्छन्।
प्रारम्भिक चरणमा रहेका व्यक्तिहरूको पहिचान गर्नु अझै चुनौतीपूर्ण छ।
सक्रिय चरण (एक्टिभ फेज)
सक्रिय वा तीव्र चरणमा, सिजोफ्रेनिया भएका मानिसहरूले मनोविकृतिको विशेषता लक्षणहरू प्रदर्शन गर्छन्, जसमा मतिभ्रम, भ्रम, र अविश्वास (प्यारानोइया) समावेश छन्।
सक्रिय सिजोफ्रेनिया, वा सक्रिय मनोविकृतिमा निम्न स्पष्ट लक्षणहरू समावेश हुन्छन्:
- मतिभ्रम: जसमा अरूले नदेखेको/नसुनेको कुरा देख्ने, सुन्ने, सुँघ्ने वा महसुस गर्ने समावेश छ।
- भ्रम: यी झूटा धारणा वा विचारहरू हुन् जुन व्यक्तिले विपरीत प्रमाणहरू दिए पनि विश्वास गरिरहन्छ।
- भ्रमित र अव्यवस्थित सोचाइ
- अव्यवस्थित वा जम्मै नमिलेको कुरा गर्ने
- अत्यधिक वा व्यर्थको हरकत
- यताउता डुलिरहने
- आफैं आफैं बडबडाइरहने
- आफैं आफैं हाँसिरहने
- उदासीनता वा भावनाहरू सुन्निनु
अवशिष्ट सिजोफ्रेनिया (रेसिडुअल सिजोफ्रेनिया)
डायग्नोस्टिक एन्ड स्ट्याटिस्टिकल म्यानुअल, पाँचौं संस्करण, पाठ संशोधन (DSM-5-TR) ले अब निदान उद्देश्यका लागि अवशिष्ट चरणलाई मान्यता दिंदैन। यद्यपि, सिजोफ्रेनियाका लक्षणहरू वर्णन गर्न यो अझै उपयोगी छ।
अवशिष्ट सिजोफ्रेनियामा, व्यक्तिले सक्रिय चरणमा देखिने भन्दा कम वा कम गम्भीर लक्षणहरू अनुभव गर्दछ।
सामान्यतया, यस चरणमा मानिसहरूले सकारात्मक लक्षणहरू, जस्तै मतिभ्रम वा भ्रम, अनुभव गर्दैनन्।
अवशिष्ट चरण प्रारम्भिक (प्रोड्रोमल) चरण जस्तै हुन्छ। मानिसहरूले नकारात्मक लक्षणहरू अनुभव गर्न सक्छन्, जस्तै प्रेरणाको कमी, कम ऊर्जा, वा उदास मनोदशा।
अवशिष्ट सिजोफ्रेनियाका लक्षणहरूमा समावेश छन्:
- सामाजिक रूपमा पछि हट्ने
- ध्यान केन्द्रित गर्न कठिनाइ
- गतिविधिहरू योजना बनाउन र भाग लिन कठिनाइ
- अनुहारको भावहरू कम वा हराउनु
- समतल, एकनासको आवाज (भावनाविहीन)
- सामान्य असावधानी
यी चरणहरूको कारण के हुन्?
सिजोफ्रेनिया एक बहुआयामिक अवस्था हो जुन विभिन्न कारकहरूबाट उत्पन्न हुन्छ। अनुसन्धानले सिजोफ्रेनियाको सम्भावित कारणहरूमा प्रकाश पारेको छ। यद्यपि, मानिसहरू किन सिजोफ्रेनियाका चरणहरूबाट गुज्रिन्छन् भन्ने कारणहरू अझै अस्पष्ट छन्।
वातावरणीय, आनुवंशिक र शारीरिक कारकहरूको संयोजनले मस्तिष्कको संरचना र रसायनशास्त्र परिवर्तन गर्न सक्छ। यी परिवर्तनहरूले सिजोफ्रेनिया निम्त्याउँछन्।
विज्ञहरूले निम्न कारकहरूलाई सिजोफ्रेनियासँग जोड्छन्:
- आनुवंशिकी: नेशनल अलायन्स अन मेन्टिल इलनेस (NAMI) का अनुसार, सिजोफ्रेनियाको पारिवारिक इतिहास भएका मानिसहरूमा यो अवस्था विकास हुने सम्भावना छ गुणा बढी हुन्छ।
- वातावरण: व्यक्तिको वातावरणले सिजोफ्रेनिया र अन्य मानसिक रोगहरूको जोखिमलाई असर गर्न सक्छ। नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ (NIMH) का अनुसार, भाइरसको सम्पर्क, तनाव, र गरिबीले सिजोफ्रेनियाको विकासमा भूमिका खेल्न सक्छ। जीवनशैली छनोटहरू, आघात, र पदार्थको दुरुपयोगले पनि असर गर्न सक्छ।
- मस्तिष्क संरचना: मस्तिष्कको संरचना र कार्यमा भएको परिवर्तनले मस्तिष्कको न्यूरोट्रान्समिटरहरू (जस्तै डोपामाइन) बीच असामान्य अन्तरक्रिया निम्त्याउन सक्छ। यी परिवर्तनहरूले मनोवैज्ञानिक प्रकरणहरू (साइकोटिक एपिसोड) र सिजोफ्रेनियाको प्रगतिमा योगदान गर्न सक्छन्।
- लागूपदार्थको प्रयोग: सन् २०१७ को अनुसन्धानले सुझाव दिन्छ कि लागूपदार्थको प्रयोग, विशेष गरी किशोरावस्थामा, पछि जीवनमा सिजोफ्रेनिया विकास हुने जोखिम बढाउन सक्छ। NIMH ले सुझाव दिन्छ कि सिजोफ्रेनियासँग सम्बन्धित आनुवंशिक कारकहरूले लतमा संलग्न मस्तिष्क परिवर्तनहरूमा पनि योगदान गर्न सक्छन्।
सिजोफ्रेनियाको निदान
स्वास्थ्य सेवा र मानसिक स्वास्थ्य पेशेवरहरूले प्रायः सक्रिय चरणमा सिजोफ्रेनियाको निदान गर्छन्, जब लक्षणहरू सबैभन्दा प्रमुख हुन्छन्।
सिजोफ्रेनियाको निदान गर्न एक मानसिक स्वास्थ्य पेशेवरले DSM-5-TR मा उल्लिखित मापदण्डहरू पालना गर्नुपर्छ।
DSM-5 अनुसार, सिजोफ्रेनियाको निदानमा निम्न तत्वहरू हुन्छन्:
- व्यक्तिले १ महिनाको अवधिमा निम्न मध्ये कम्तीमा दुई लक्षणहरू प्रदर्शन गर्दछ:
- भ्रम
- मतिभ्रम
- अव्यवस्थित वाणी
- अव्यवस्थित वा क्याटाटोनिक व्यवहार
- नकारात्मक लक्षणहरू, जस्तै कम भावनात्मक अभिव्यक्ति वा उदासीनता
- लक्षणहरूले व्यक्तिको कार्य गर्ने क्षमता घटाउँछ, उनीहरूको व्यावसायिक वा शैक्षिक प्रदर्शन, पारस्परिक सम्बन्ध, वा आत्म-हेरचाहलाई असर गर्छ।
- घटेको कार्यक्षमता कम्तीमा ६ महिनासम्म रहन्छ। यो ६ महिनाको अवधिमा, व्यक्तिले कम्तीमा १ महिना लक्षणहरू प्रदर्शन गर्दछ।
- सक्रिय चरणका लक्षणहरू प्रमुख अवसाद वा उन्माद (म्यानिक) प्रकरणहरूबाट स्वतन्त्र रूपमा हुन्छन्।
- लक्षणहरू अर्को चिकित्सा अवस्था, लागूपदार्थको दुरुपयोग, वा औषधिको परिणाम थिएनन्।
सिजोफ्रेनियाको सुरुवातको उमेर
यद्यपि एक व्यक्तिलाई कुनै पनि उमेरमा सिजोफ्रेनिया हुन सक्छ, पुरुष र महिलाहरू बीच सुरुवातको औसत उमेरमा केही भिन्नता हुन्छ।
NAMI का अनुसार, सिजोफ्रेनियाको प्रारम्भिक लक्षणहरू सामान्यतया पुरुषहरूको लागि २० को दशकको सुरुवात र महिलाहरूको लागि २० को दशकको अन्त्य देखि ३० को दशकको सुरुवात बीच देखा पर्छन्।
सन् २०१८ को एक केस रिपोर्टका लेखकहरूले बताए अनुसार, १३ वर्ष भन्दा कम उमेरका बालबालिकाहरूमा पनि सिजोफ्रेनिया हुन सक्छ, यद्यपि यो दुर्लभ देखिन्छ।
सिजोफ्रेनियाको उपचार
यद्यपि सिजोफ्रेनिया आजीवन अवस्था हो, यो उपचार योग्य छ। समयमै र प्रभावकारी उपचार प्राप्त गर्नाले लक्षणहरू व्यवस्थापन गर्न र पुनरावृत्ति रोक्न मद्दत गर्न सक्छ।
उपचार विकल्पहरूमा समावेश छन्:
- एन्टिसाइकोटिक औषधिहरू: एन्टिसाइकोटिक औषधिहरू दैनिक मुखबाट लिने डोज वा मासिक इन्जेक्सनको रूपमा उपलब्ध छन्। निर्देशित रूपमा एन्टिसाइकोटिक्स लिने मानिसहरूले कम तीव्र र कम पटक हुने मनोवैज्ञानिक (साइकोटिक) लक्षणहरू अनुभव गर्न सक्छन्। प्रभावकारी भए तापनि, एन्टिसाइकोटिक औषधिहरूले तौल बढ्ने र निद्रा लाग्ने जस्ता प्रतिकूल असरहरू गर्न सक्छन्।
- मनोचिकित्सा (साइकोथेरापी): जस्तै:
- संज्ञानात्मक व्यवहार चिकित्सा (सीबीटी): सीबीटीले मानिसहरूलाई अवरोधकारी सोचाइहरूसँग जुझ्नको लागि उपयोगी सामना गर्ने सीप र रणनीतिहरू विकास गर्न मद्दत गर्न सक्छ।
- साइकोडायनामिक थेरापी: मनोविश्लेषणात्मक चिकित्सा (साइकोएनालिटिक थेरापी) को रूपमा पनि चिनिने यसमा मनोवैज्ञानिक र उनीहरूको बिरामी बीच कुराकानी समावेश हुन्छ। यी कुराकानीहरूले भावनात्मक अनुभवहरू र अचेतन प्रक्रियाहरू पत्ता लगाउन प्रयास गर्छन् जसले व्यक्तिको हालको मानसिक अवस्थामा योगदान गर्दछ।
- स्वीकार र प्रतिबद्धता चिकित्सा (एसीटी): एसीटी एक प्रकारको व्यवहार चिकित्सा हो जसले मानिसहरूलाई उनीहरूको गहिरो भावनाहरूलाई चुनौती दिनुको सट्टा स्वीकार गर्न प्रोत्साहित गर्दछ। एसीटी व्यक्तिगत लक्ष्य र मूल्यहरूप्रति प्रतिबद्धता र व्यक्तिको समग्र जीवनको गुणस्तर सुधार गर्नमा पनि केन्द्रित हुन्छ। अन्तमा, एसीटीले माइन्डफुलनेस सीपहरू सिकाउँछ जसले व्यक्तिलाई नकारात्मक विचार वा अनुभवहरूले ग्रसित हुनुको सट्टा वर्तमान क्षणमा केन्द्रित रहन मद्दत गर्न सक्छ। यी तीन अवस्थाहरू संयोजन गरेर, एक व्यक्तिले पहिले आफूप्रतिको दृष्टिकोण परिवर्तन गरेर आफ्नो व्यवहार परिवर्तन गर्न सक्छ।
- पारिवारिक चिकित्सा: यस प्रकारको मनोचिकित्सामा सिजोफ्रेनिया र अन्य मानसिक स्वास्थ्य अवस्था भएका व्यक्तिहरूको परिवार र महत्त्वपूर्ण अरू व्यक्तिहरू समावेश हुन्छन्। यसले शिक्षा, तनाव न्यूनीकरण, र भावनात्मक प्रक्रियामा केन्द्रित हुन्छ। यसले परिवारका सदस्यहरूलाई एकअर्कासँग राम्रोसँग कुराकानी गर्न र द्वन्द्व समाधान गर्न मद्दत गर्दछ।
- समन्वयित विशेष हेरचाह (सीएससी): सीएससीमा स्वास्थ्य पेशेवरहरूको टोली समावेश हुन्छ जसले औषधि व्यवस्थापन गर्छ, मनोचिकित्सा प्रदान गर्छ, र शिक्षा र रोजगारी सहयोग प्रदान गर्दछ।
आपतकालीन हेरचाह कहाँ खोज्ने ?
यदि कसैलाई आत्महत्या (सुसाइडल) को विचार आइरहेको छ वा खतरनाक व्यवहार प्रदर्शन गरिरहेको छ भने, कृपया आपतकालीन हेरचाह खोज्नुहोस्:
- संयुक्त राज्य अमेरिकामा: ९८८ मा डायल गरेर राष्ट्रिय आत्महत्या रोकथाम लाइफलाइनमा सम्पर्क गर्नुहोस्।
- संयुक्त राज्य अमेरिका बाहिर: आफ्नो क्षेत्रको आपतकालीन सेवा वा आत्महत्या रोकथाम हेल्पलाइनमा सम्पर्क गर्नुहोज्ञ।
यदि तपाईं एउटै घरमा हुनुहुन्न भने, मद्दत नआउन्जेल उनीहरूसँग फोनमा सम्पर्कमा रहनुहोस्।
सारांश
सिजोफ्रेनियामा तीन चरणहरू हुन्छन् – प्रारम्भिक (प्रोड्रोमल), सक्रिय (एक्टिभ), र अवशिष्ट (रेसिडुअल)।
प्रारम्भिक चरणमा गैर-विशिष्ट लक्षणहरू हुन्छन्, जस्तै प्रेरणाको कमी, सामाजिक एक्लोपन, र ध्यान केन्द्रित गर्न कठिनाइ।
प्रारम्भिक (प्रोड्रोमल) लक्षणहरू सधैं स्पष्ट हुँदैनन्। फलस्वरूप, यस चरणमा सिजोफ्रेनियाको निदान गर्न अत्यन्तै गाह्रो हुन सक्छ।
सक्रिय सिजोफ्रेनियामा मनोविकृतिको स्पष्ट लक्षणहरू समावेश हुन्छन्, जस्तै मतिभ्रम र भ्रम। यस चरणमा मानिसहरूलाई तुरुन्त चिकित्सकीय ध्यान आवश्यक पर्दछ।
समयमै निदान र शीघ्र उपचारले मनोवैज्ञानिक प्रकरणहरूको गम्भीरता र आवृत्ति कम गर्न मद्दत गर्न सक्छ।
अवशिष्ट चरण (रेसिडुअल फेज) अब निदानात्मक मापदण्डको रूपमा स्वीकार गरिंदैन, तर यसले सिजोफ्रेनियाको प्रगति व्याख्या गर्न मद्दत गर्दछ।
अवशिष्ट चरणमा, मतिभ्रम, भ्रम, र अव्यवस्थित सोचाइ हल्का वा पूर्ण रूपमा अनुपस्थित हुन्छन्। एक व्यक्तिले प्रारम्भिक चरणका लक्षणहरू अनुभव गरिरहन सक्छ।
– रुमी थापा