डिस्क डिसिकेशन (Disc Desiccation) के हो?
–पी. समर
डिस्क डिसिकेशन मेरुदण्डको हड्डीहरू (vertebrae) बीचका डिस्कहरूमा रहेको तरल पदार्थ सुक्ने प्रक्रिया हो। यसले डिस्कहरूलाई पातलो र कम लचिलो बनाउँछ। यो समस्या उमेर बढ्दै जाँदा सामान्य रूपमा देखिन्छ, तर युवाहरूमा पनि यो हुन सक्छ।
हाम्रो मेरुदण्डमा २३ वटा ससाना डिस्क हुन्छन्, जसले मेरुदण्डका हड्डीहरूलाई जोड्छ र हिँडडुल गर्दा वा अन्य शारीरिक गतिविधि गर्दा लाग्ने झट्का र घर्षणबाट बचाउँछन्।
मेरुदण्डलाई मुख्यतया पाँच भागमा विभाजन गरिएको छ:
* गर्दनको मेरुदण्ड (Cervical spine): गर्दनको माथिल्लो भागका ७ वटा हड्डीहरू।
* छातीको मेरुदण्ड (Thoracic spine): गर्दनको मुनि रहेका १२ वटा हड्डीहरू।
* कम्मरको मेरुदण्ड (Lumbar spine): छातीको मुनि रहेका ५ वटा हड्डीहरू।
* त्रिक अस्थी (Sacral spine): कम्मरको मुनि रहेका ५ वटा हड्डीहरू।
* पुच्छरको हड्डी (Coccyx): त्रिक अस्थीको मुनि रहेका ४ वटा हड्डीहरू।
डिस्क डिसिकेशन उमेर बढ्ने क्रममा देखिने एक स्वाभाविक प्रक्रिया हो। उमेरसँगै डिस्कमा पानीको मात्रा कम हुँदै जान्छ, जसले गर्दा ती साना र कम लचिलो हुन्छन् र अन्ततः खुम्चिन्छन् वा कमजोर हुन्छन्।
लक्षणहरू:
धेरैजसो मानिसहरूमा डिस्क डिसिकेशनको कुनै लक्षण देखिँदैन। यद्यपि, मेरुदण्डको कुन भागमा यो समस्या देखिएको छ, त्यसअनुसार लक्षणहरू फरक पर्न सक्छन्।
* गर्दनको मेरुदण्ड प्रभावित भएमा गर्दन दुख्ने।
* कम्मरको मेरुदण्ड प्रभावित भएमा कम्मर दुख्ने।
यसका अन्य लक्षणहरू:
* शरीरमा अकडन महसुस हुनु
* मांसपेशीहरू कमजोर हुनु
* हातखुट्टामा झमझमाहट वा लाटो हुनु
* शरीरको चालमा कठिनाइ वा दुखाइ हुनु
* साइटिका (Sciatica): कम्मरदेखि खुट्टासम्म दुखाइ हुनु।
कारणहरू:
उमेर बढ्नु डिस्क डिसिकेशनको मुख्य कारण हो। यसका अन्य कारणहरू पनि हुन सक्छन्:
* चोटपटक वा दुर्घटना।
* अस्वस्थ तौल: मोटोपनले मेरुदण्डमा अतिरिक्त दबाब सिर्छ।
* शारीरिक श्रम: भारी सामान उठाउने वा कम्मरमा धेरै जोर पर्ने काम गर्दा।
* धूम्रपान: यो डिस्कलाई सुकाउने एउटा प्रमुख कारक हो।
निदान (Diagnosis):
धेरैजसो मानिसले ढाड वा कम्मर दुखाइको लागि डाक्टरलाई देखाउँदा डिस्क डिसिकेशनको बारेमा थाहा पाउँछन्। डाक्टरले तपाईंको विस्तृत स्वास्थ्य इतिहास र शारीरिक परीक्षण गर्नेछन्। यस क्रममा मेरुदण्ड, हातखुट्टाको चाल, मांसपेशीको शक्ति र संवेदनशीलता जाँच गरिन्छ।
डाक्टरले दुखाइको प्रकार, सुरु भएको समय र यो बढ्ने वा कम हुने अवस्थाहरूको बारेमा पनि सोध्न सक्छन्।
यी जानकारीका आधारमा, डाक्टरले थप जाँचहरू गर्न सक्छन्:
* एक्स-रे (X-ray)
* एमआरआई (MRI scan)
* सीटी स्क्यान (CT scan)
यी जाँचहरूले मेरुदण्डको संरचना, डिस्कको अवस्था र हड्डीहरूमा कुनै क्षति भए नभएको स्पष्ट रूपमा देखाउँछन्।
उपचारका विकल्पहरू:
यदि डिस्क डिसिकेशनले खासै दुखाइ वा असुविधा दिँदैन भने विशेष उपचारको आवश्यकता पर्दैन।
घरमै गर्न सकिने सामान्य उपायहरू:
* दुखाइ बढाउने कामबाट टाढा रहने।
* भारी सामान उठाउँदा कम्मरमा सहयोगी बेल्ट (back brace) लगाउने।
* नियमित व्यायाम गरेर मेरुदण्डको मांसपेशीहरूलाई बलियो बनाउने र स्वस्थ तौल कायम राख्ने।
* डाक्टरको सल्लाहमा दुखाइ कम गर्ने औषधि लिने।
केही मानिसलाई दुखाइ र सुनिनेपन कम गर्न फिजियोथेरापी वा एपिड्युरल इन्जेक्सन (epidural injections) को आवश्यकता पर्न सक्छ।
यदि यी उपचारहरूले काम गरेनन् भने, शल्यक्रिया (surgery) आवश्यक हुन सक्छ। शल्यक्रियाका केही प्रकार:
* फ्युजन (Fusion): सुख्खा भएका डिस्क वरपरका हड्डीहरूलाई जोडेर मेरुदण्डलाई स्थिर बनाउने।
* डिकम्प्रेसन (Decompression): स्नायुमा दबाब दिइरहेको हड्डी वा डिस्कको भाग हटाएर स्नायुलाई आराम दिने।
* इम्प्लान्ट (Implants): हड्डीहरू आपसमा घर्षण हुनबाट रोक्न कृत्रिम डिस्क (artificial discs) वा स्पेसर राख्ने।
शल्यक्रिया विचार गरिरहनुभएको छ भने मेरुदण्डका विशेषज्ञ (spinal specialist) सँग सल्लाह लिनु उपयुक्त हुन्छ।
रोकथाम:
डिस्क डिसिकेशनबाट बच्न वा यसको जोखिम कम गर्न केही जीवनशैली परिवर्तन गर्न सकिन्छ:
* प्रशस्त पानी पिउने: शरीरमा पर्याप्त पानी हुँदा डिस्कहरूमा पनि तरल पदार्थको मात्रा कायम रहन्छ।
* धूम्रपान नगर्ने: धूम्रपानले डिस्कहरूलाई सुकाउँछ।
* स्वस्थ तौल कायम राख्ने: तौल बढी हुँदा मेरुदण्डमा दबाब पर्छ।
* नियमित व्यायाम गर्ने: मेरुदण्डलाई बलियो र लचिलो बनाउन कार्डियो र वजन प्रशिक्षण (weight-training) लाभदायक हुन्छ।
सारांस:
डिस्क डिसिकेशन एक सामान्य प्रक्रिया हो जुन उमेर बढ्दै जाँदा देखा पर्छ। यो सधैँ लक्षणसहित आउँदैन, तर यसले कम्मर र गर्दनमा दुखाइ र अकडन ल्याउन सक्छ।धेरैजसो अवस्थामा, जीवनशैलीमा सामान्य परिवर्तन र घरमै सावधानी अपनाएर यसको दुखाइलाई व्यवस्थापन गर्न सकिन्छ। यदि यो समस्याले तपाईंको दैनिक जीवनमा असर गरिरहेको छ भने, डाक्टरसँग परामर्श गरेर उचित उपचार योजना बनाउन सकिन्छ।